‘हाम्रो कार्यक्रममा तीन पुस्ता सँगै आएर रमाएको देख्दा खुसी लाग्छ । यसमा नेपथ्यको संगीतमा रहेको नेपालीपन, लोकको भाका र सामाजिक भावले काम गरेको जस्तो लाग्छ ।’
काठमाडौँ — लोकरक ब्यान्ड ‘नेपथ्य’ हाल सांगीतिक यात्राका क्रममा अमेरिकामा छ । अगस्ट ३ माकोलोराडोको डेनभर सहरमा प्रस्तुति दिएर अमेरिकाको सांगीतिक यात्रा सुरू गरेको ब्यान्डले शनिबार क्यालिफोर्नियाको सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’ मा कार्यक्रम गरिसकेको छ ।
ब्यान्डले अगस्ट १७ मा ओहायो राज्यको कोलम्बसस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यु’ मा प्रस्तुति दिँदै छ । त्यसपछि टेक्सास, डालास, न्युयोर्क, मेरिल्यान्ड हुादै सेप्टेम्बर ७ मा पेन्सिलभेनियाको ह्यारिसवर्गमा प्रस्तुति दिएसँगै ब्यान्ड अमेरिकाबाट घर फर्कनेछ । ब्यान्डको अमेरिकाको सांगीतिक यात्रा, भविष्यका योजना र संगीत क्षेत्रका चुनौतीलगायत विषयमा नेपथ्यका गायक अमृत गुरुङसँग कान्तिपुरका बुद्धिसागर मरासिनीले गरेको कुराकानी :
अमेरिकामा सांगीतिक टुर आयोजना गर्नुको खास उद्देश्य के हो ?
अमेरिकाको सांगीतिक यात्राको उद्देश्य त्यहाँ रहेका हाम्रा श्रोतासँगको भेट, आपसी मिलन र मनोरञ्जन हो । यो हाम्रो अमेरिकाको छैटौं यात्रा हो र यसपालि हामी सात सहरको यात्रामा छौं ।
कुनै पनि कलाकारका लागि विदेशी भूमिका कार्यक्रम गर्न कति सहज छ ?
विदेश होस् वा देश, कार्यक्रमका चुनौती आफ्नै हुन्छन् । कलाकारका लागि सबैभन्दा ठूलो चुनौती नै चुस्त व्यवथापन हो । नेपथ्यका लागि देशविदेश सबै ठाउँमा व्यवस्थापनको जिम्मा नेपालयले लिएको हुँदा, सबै सहज नै हुन्छ ।
हामीलाई चाहिने मुख्य प्राविधिकहरू हामीसँगै नेपालबाट आउने भएकाले थप सहज भएको छ । कार्यक्रम निर्माणको हिसाबले हाम्रो कार्यक्रमको स्तर हाम्रा प्राविधिक र व्यवस्थापनले कायम राखिदिन्छन् । त्यसैले अहिले निकै सजिलो भएको छ । पहिलेपहिले कलाकार मात्रै यात्रा गर्दा निकै असहज र कम्प्रोमाइज हुन्थ्यो । अहिले सहज छ ।
अमेरिका यात्राका क्रममा कहाँ–कहाँ कार्यक्रम हुँदै छन् ?
अगस्ट ३ मा कोलोराडो र अगस्ट १० मा पश्चिमी तटीय समृद्ध सहर सानफ्रान्सिस्कोमा कार्यक्रम सम्पन्न भइसकेका छन् । सानफ्रान्सिस्कोको ‘वारफिल्ड थिएटर’ मा नेपथ्य आठ वर्षको अन्तरालपछि फेरि प्रस्तुत भएको हो ।
त्यसपछि भने ब्यान्ड क्रमशः अगस्ट १७ मा ओहायो राज्यको राजधानी कोलम्बस, २४ मा टेक्सासको डालस, ३० मा न्युयोर्क, सेप्टेम्बर १ मा मेरिल्यान्ड र अन्त्यमा सेप्टेम्बर ७ पेन्सिलभेनियाको हृयारिसवर्गमा प्रस्तुत हुनेछ ।
सांगीतिक टुरमा कति जना सदस्यहरू सहभागी हुनुहुन्छ र उहाँहरूको भूमिका के–के छ ?
अहिलेको यात्रामा ६ जना कलाकारसहित साउन्ड, लाइट, भिडियोग्राफी र फोटोग्राफीमा ५ प्राविधिक र २ जना व्यवस्थापक छन् ।
यस पटकको अमेरिका यात्राको आयोजक वा सहयोगी को–को हुन् ?
हाम्रो सहकार्य डालसस्थित मोमो इन्टरटेनमेन्टसँग छ । उनीहरूमार्फत अन्य राज्य र सहरमा स्थानीय इभेन्ट कम्पनीले आयोजनाको जिम्मेवारी लिएका छन् ।
यो सांगीतक यात्रा विगतका भन्दा कुन अर्थमा फरक छ ?
अमेरिकामा हामीले हाम्रो पूरा प्राविधिक टोलीसहित आएर कार्यक्रम गर्न पाएका थिएनौं । त्यस अर्थमा यो यात्राका कार्यक्रमहरू अमेरिकाका पहिलेका भन्दा बढी व्यवस्थित भएका छन् र हुनेछन् । साथै, सबै ठाउँमा कार्यक्रम स्तरीय हलहरूमा हुने भएकाले सबैलाई कार्यक्रम हेर्दाको अनुभव अविस्मरणीय हुनेछ ।
कोलोराडाको डेनभर र क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा गरिएका प्रस्तुति कस्ता रहे ?
कार्यक्रमको मूल्यांकन दर्शक, श्रोताले गर्ने हुन् । त्यस मानेमा यहाँका दर्शकले सामाजिक सञ्जालमा व्यक्त गरेका प्रतिक्रिया हेर्दा, कार्यक्रम कार्यक्रम प्रफमेन्स (प्रस्तुति), प्रोडक्सन (उत्पादन) र पार्टिसिपेसन (सहभागिता) तीनै पक्षबाट सफल रह्यो ।
ती प्रस्तुतिका क्रममा दर्शक, श्रोताहरूको साथ सहयोग कस्तो पाउनुभयो ?
दर्शक सभ्य थिए, मायालु थिए । स्थानीय आयोजकका अनुसार नेपाली कार्यक्रमका लागि यतिका संख्यामा भएको दर्शकको उपस्थिति ऐतिहासिक नै हो । तीन पुस्ताका दर्शक कार्यक्रममा आए र हामी सबै मिलेर रमायौं ।
नेपथ्यले अमेरिकामा पहिलो पटक २० वर्षअघि आफ्नो प्रस्तुति दिएको थियो ? त्यतिबेला र अहिलेको अवस्थामा के फरक पाउनुभयो ?
त्यसबेला कार्यक्रम प्रोडक्सनमा निकै कमप्रोमाइज गर्नुपर्थ्यो । अहिले त्यो अवस्था पार भएको अनुभव हुन्छ । कलाकारले कार्यक्रम प्रस्तुतिमा केन्द्रित हुन पाएको छ, बाँकी सबै व्यवस्थापनले हेर्छ । सजिलो र सहज भएको छ ।
नेपथ्यले हालसम्म १७ वटा देशका विभिन्न सहरमा कार्यक्रम गरिसकेको छ, तीमध्ये कुन देशका कार्यक्रम बढी सफल भएजस्तो लाग्छ ?