Shopping cart

Magazines cover a wide array subjects, including but not limited to fashion, lifestyle, health, politics, business, Entertainment, sports, science,

TnewsTnews
  • Home
  • समाचार
  • राजनीति विशेष
  • जनमुक्ति सेनामा हुदाका अधुरा सपना पूरा गर्दै घिसिङ, प्रतिनिधि सभा सदस्य उम्मेदवार सम्मको यात्रा ।
मुख्य समाचार

जनमुक्ति सेनामा हुदाका अधुरा सपना पूरा गर्दै घिसिङ, प्रतिनिधि सभा सदस्य उम्मेदवार सम्मको यात्रा ।

Email :214

ललितपुर ।

ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार बनेका संजय घिसिङ तामाङले सामाजिक न्याय, संविधान संशोधन र दक्षिण ललितपुरको समग्र विकासलाई मुख्य एजेन्डा बनाएर आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। दुर्गम भूभाग तत्कालीन शंखु गाविस वडा नं. ७ (हाल कोन्ज्योसोम गाउँपालिका वडा नं. २) मा वि.सं. २०४२ सालमा जन्मिएका घिसिङले आफ्नो राजनीतिक यात्रालाई संघर्ष, आत्ममन्थन र अधूरा सपनाको निरन्तरता भएको बताएका छन्।

सामान्य परिवारमा जन्मिएका घिसिङ शिक्षा र सामाजिक चेतनाको वातावरणमा हुर्किएका हुन्। उनी तालुकदार पछिका प्रधानपञ्च गंगराज घिसिङका जेठा छोरा लवन दोर्जे घिसिङका नाति हुन्। उनका हजुरबा र बुवाले आ–आफ्नो क्षेत्रमा विद्यालय स्थापना गरी शिक्षाको उज्यालो फैलाएका थिए। ग्रामीण परिवेशमा हुर्किँदा उनले सामाजिक विभेद, आर्थिक अभाव र अवसरको असमानता नजिकबाट अनुभव गरेका थिए। यही अनुभवले समाजमा न्याय, समानता र समावेशिताको पक्षमा उभिनुपर्ने चेतना विकास गरेको उनी बताउँछन्।

युवावस्थामा देश राजनीतिक अस्थिरता, सामाजिक असमानता र वैचारिक विभाजनले ग्रसित थियो। जातीय छुवाछूत, दलितमाथिको विभेद, लैङ्गिक असमानता र वर्गीय विभाजनले समाजलाई गहिरो रूपमा प्रभावित पारेको थियो। सामाजिक न्याय र समानताको नारासहित फैलिएको माओवादी आन्दोलनबाट प्रभावित हुँदै घिसिङ विद्यार्थी संगठन हुँदै जनमुक्ति सेनासम्म पुगे। विभिन्न स्थानका लडाइँहरूमा सहभागी भई तहगत रूपमा कमाण्डरको जिम्मेवारी सम्हालेका उनले जनयुद्धलाई “जातीय र वर्गीय विभेद चिर्ने अभियान” का रूपमा स्मरण गरेका छन्।

उनका अनुसार हजारौँ वर्षदेखि जरा गाडेर बसेको छुवाछूत, दलित समस्या, जातीय भेदभाव र लैङ्गिक विभेद अन्त्य गर्ने सपना अझै पूर्ण रूपमा साकार हुन सकेको छैन। मैले बोकेको सपना केवल राजनीतिक परिवर्तन थिएन त्यो सामाजिक रूपान्तरणको सपना थियो। समान अधिकार, सम्मानजनक जीवन र वर्गविहीन समाज निर्माण गर्ने लक्ष्य अझै अधूरो छ, उनले भने। यही अधूरो सपनालाई पूरा गर्न आफू पुनः चुनावी मैदानमा आएको उनले बताएका छन्।

शान्ति सम्झौतापछि माओवादी पार्टी सत्तामा पुगे पनि आन्दोलनले बोकेको आदर्श क्रमशः सत्ताभोग, भागबण्डा र भ्रष्टाचारतर्फ मोडिएको उनले आरोप लगाए। वि.सं. २०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि सभासदको स्वकीय सचिवका रूपमा काम गर्दा उनले राज्य सञ्चालनको प्रक्रिया नजिकबाट देखेका थिए। उनका अनुसार वर्तमान संविधानले समानताको घोषणा गरे पनि देशका सम्पूर्ण मूलवासी, आदिवासी, दलित तथा सीमान्तकृत समुदायको हक–अधिकार पूर्ण रूपमा सुनिश्चित गर्न सकेको छैन। “संरचनागत असमानता कायम छ। त्यसैले संविधानमा व्यापक संशोधन आवश्यक छ, र आवश्यक परे नयाँ संविधान पुनर्लेखन गर्नुपर्छ,” उनले स्पष्ट पारे। आदिवासी जनजाति र दलित जस्तो अपमानित शब्दलाई खारेज गरि मुलवासी लाेकसमुदायकाे अस्तित्व र अधिकार सुनिश्चित गर्न मेरो उम्मेदवारी आवश्यक थियो भन्ने बताएका छन् ।

राजनीतिक गतिविधिबाट केही समय अलग रहेपछि घिसिङ गैरसरकारी संस्थामार्फत विपद् प्रभावित तथा गरिब समुदायहरूको जीविकोपार्जन र सशक्तीकरणमा सक्रिय भए। ग्रामीण र शहरी क्षेत्रमा सीप विकास, साना उद्यम प्रवर्द्धन, कृषि आधुनिकीकरण र सामुदायिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै उनले व्यवहारिक विकास मोडलहरूलाई नजिकबाट अभ्यास गरेका छन्। “विकास भाषणले होइन, स्पष्ट योजना र इमान्दार कार्यान्वयनले सम्भव हुन्छ,” उनले भने।

दक्षिण ललितपुरको विकासका लागि उनले बहुआयामिक र दीर्घकालीन मोडल अघि सारेका छन्। पर्यटन क्षेत्रमा सामुदायिक होम स्टे, सांस्कृतिक तथा धार्मिक पर्यटन, प्राकृतिक पदमार्ग विकास र स्थानीय उत्पादनको ब्रान्डिङमार्फत रोजगारी सिर्जना गर्ने योजना उनले प्रस्तुत गरेका छन्। कृषि क्षेत्रमा जडीबुटी, फलफूल, तरकारी र पशुपालनमा आधारित आधुनिक कृषि क्लस्टर विकास गरी स्थानीय युवालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको उनले बताए। जलस्रोतको दिगो उपयोग, साना जलविद्युत् तथा सिँचाइ प्रणाली विस्तारमार्फत उत्पादन वृद्धि गर्ने योजना पनि उनले अघि सारेका छन्।

शिक्षा र स्वास्थ्यलाई आधारभूत प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार, प्राविधिक तथा सीपमूलक शिक्षा विस्तार र प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणमा जोड दिने उनको प्रतिबद्धता छ। दक्षिण ललितपुरलाई “राजधानीको कर्णाली” भन्दै चुनावी नारामा सीमित पार्ने प्रवृत्तिको अन्त्य गर्दै पूर्वाधार विकास, सडक विस्तार, डिजिटल पहुँच र बजार व्यवस्थापनमा योजनाबद्ध लगानी आवश्यक रहेको उनले बताए।

हाल “नेशनल रिपब्लिक नेपाल” मार्फत राजनीति गर्दै आएका घिसिङले सुशासन, पारदर्शिता र स्थानीय स्रोत–साधनको अधिकतम उपयोगलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उनका अनुसार दक्षिण ललितपुरले बोकेको अथाह सम्भावनालाई साकार पार्न अब प्रतिबद्ध नेतृत्व र स्पष्ट कार्ययोजना आवश्यक छ।

घिसिङले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षा नभई सामाजिक न्याय, संविधान सुधार र दक्षिण ललितपुरको समृद्धिका लागि समर्पित अभियानको निरन्तरता भएको बताएका छन्। आगामी निर्वाचनमा आफूले बोकेको अधूरो सपना जातीय, वर्गीय र लिङ्गिक विभेदमुक्त समाज निर्माणलाई संस्थागत रूपमा अघि बढाउने र दक्षिण ललितपुरको विकासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts