मोरङ
“सदाचारी सामाजिक लोकतन्त्रमार्फत समृद्ध राष्ट्र निर्माण” मुख्य एजेन्डा
संयुक्त नागरिक पार्टीका सहमहासचिव, प्रवक्ता तथा विदेश विभाग प्रमुख विदुर अधिकारीले मोरङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्दै विस्तृत निर्वाचन घोषणापत्र सार्वजनिक गरेका छन्। उनले भ्रष्टाचार, नातावाद, कृपावाद र संरचनागत अन्यायको अन्त्य गर्दै न्यायपूर्ण, समतामूलक र समृद्ध राष्ट्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
घोषणापत्र सार्वजनिक कार्यक्रममा अधिकारीले मुलुकमा राजनीतिक परिवर्तन भए पनि राजनीतिक संस्कारमा अपेक्षित सुधार आउन नसकेको टिप्पणी गरे। “सत्ता परिवर्तन मात्रै पर्याप्त हुँदैन, प्रणाली र सोच परिवर्तन आवश्यक छ,” उनले भने।
ऐतिहासिक आन्दोलनको सम्मान र संस्थागत प्रतिबद्धता
अधिकारीले ०६२/०६३ को जनआन्दोलन, आदिवासी–जनजाति, मधेश, थारूवान, शिल्पी/दलित, महिला लगायत समुदायका अधिकार आन्दोलनहरूलाई लोकतान्त्रिक उपलब्धिको आधारस्तम्भका रूपमा उल्लेख गरेका छन्। साथै २०८२ भदौ २३–२४ मा नवयुवा “जेन.जी.” पुस्ताले भ्रष्टाचार र नातावादविरुद्ध उठाएको आवाजलाई नयाँ राजनीतिक चेतनाको संकेतका रूपमा व्याख्या गरेका छन्।
उनले ती ऐतिहासिक संघर्षबाट प्राप्त उपलब्धिलाई संरक्षण, संवर्द्धन र संस्थागत गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।
पाँच आधारमा केन्द्रित राजनीतिक दृष्टिकोण
अधिकारीको घोषणापत्र पाँच प्रमुख आधारमा केन्द्रित रहेको छ:
१. विश्वास, आशा र प्रेममा आधारित समन्वयकारी राजनीति
उनले राजनीति द्वन्द्व र विभाजनको माध्यम होइन, समन्वय र सहकार्यको साधन हुनुपर्ने धारणा राखेका छन्। गरिबी, अशिक्षा, बेरोजगारी, भ्रष्टाचार र सामाजिक अन्यायलाई साझा शत्रुका रूपमा चिन्हित गर्दै उनले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकतामा राख्ने बताएका छन्।
२. समावेशी तथा विविधतामुखी विकास मोडेल
केन्द्रबाट थोपारिने एकरूप विकास नीति प्रभावकारी नहुने उल्लेख गर्दै उनले स्थानीय आवश्यकता, पहिचान र स्रोत–साधनमा आधारित विकास रणनीति अवलम्बन गर्ने बताएका छन्। संरचनागत बहिष्करण अन्त्य गरी दलित, महिला, आदिवासी, मधेशी तथा पिछडिएका समुदायलाई समान अवसर सुनिश्चित गर्ने उनको योजना छ।
३. आर्थिक समुन्नति र सामाजिक न्यायको समन्वय
अधिकारीले आर्थिक विकासलाई सामाजिक न्यायसँग जोडेर हेर्नुपर्ने बताएका छन्। रोजगारी सिर्जना, उत्पादनमूलक अर्थतन्त्र, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग प्रवर्द्धन, उद्यमशीलता विकास र पारदर्शी कर प्रणालीमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य उनले अघि सारेका छन्।
साथै जातीय विभेद, लैङ्गिक हिंसा र सबै प्रकारका असमानताको अन्त्य गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
४. अधिकारसँगै दायित्वबोध
मतदान मात्र लोकतन्त्रको अन्तिम लक्ष्य नभई नागरिक दायित्वबोध आवश्यक रहेको उनले बताएका छन्। सुशासन, पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिक संस्कार विकासमा जोड दिँदै नागरिक-केन्द्रित प्रशासन प्रणाली स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
५. युवा नेतृत्व र जेन.जी. पुस्ताको सहभागिता
अधिकारीले युवा पुस्ताको आकांक्षा सम्बोधन नगरी देश अगाडि बढ्न नसक्ने बताएका छन्। राज्यका सबै तहमा युवा नेतृत्व सुनिश्चित गर्ने, नवप्रवर्तन र प्रविधि–आधारित प्रशासन प्रणाली विकास गर्ने तथा उद्यमशील युवालाई प्रोत्साहन गर्ने योजना उनले सार्वजनिक गरेका छन्।
राज्यको भूमिका र सुशासन
घोषणापत्रमा राज्यको पहिलो दायित्व नागरिकको जीवन, स्वतन्त्रता र मानमर्यादाको रक्षा गर्नु भएको उल्लेख गरिएको छ। सरकार जनउत्तरदायी, पारदर्शी र नैतिक हुनुपर्नेमा उनले जोड दिएका छन्।
“यदि कुनै सरकार जनताको हितमा काम गर्न असफल हुन्छ भने लोकतान्त्रिक प्रक्रियामार्फत परिवर्तन गर्नु नागरिकको अधिकार हो,” उनले भने।
शिक्षा, अनुसन्धान र आन्दोलनबाट आएको अनुभव
अधिकारीले करिब आधा दशक निजी विद्यालयमा र एक दशक कलेजस्तरमा अध्यापन गरेको अनुभव साझा गरेका छन्। विश्व राजनीति र संवैधानिक इतिहासको अध्ययनले नीति–निर्माणमा आफूलाई स्पष्ट दृष्टिकोण दिएको उनको भनाइ छ।
२०५० सालदेखि विद्यार्थी हकहितका लागि सक्रिय रहँदै राजनीतिक यात्रा सुरु गरेका अधिकारी ०६२/०६३ को जनआन्दोलनमा अग्रपंक्तिमा सहभागी भएको अनुभवसमेत राख्छन्।
सामाजिक मुद्दामा धारणा
अधिकारीले मानव जीवनको सम्मान, पारिवारिक स्थायित्व र सामाजिक सदाचारलाई महत्त्व दिने बताएका छन्। संवेदनशील सामाजिक विषयहरूमा संविधान र कानुनको दायराभित्र रही शान्तिपूर्ण बहस र संवादमार्फत समाधान खोज्ने उनको धारणा छ।
मोरङ–३ लाई नमूना क्षेत्र बनाउने योजना
घोषणापत्रमा मोरङ–३ लाई कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सामाजिक सद्भावको नमूना क्षेत्र बनाउने लक्ष्य उल्लेख गरिएको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, सहकारी सशक्तीकरण, युवा उद्यमशीलता प्रवर्द्धन र सुशासनमार्फत क्षेत्रीय विकासलाई गति दिने योजना अधिकारीले सार्वजनिक गरेका छन्।
मतदातालाई आग्रह
अन्त्यमा विदुर अधिकारीले मोरङ निर्वाचन क्षेत्र नं. ३ का मतदातालाई “गितार” चुनाव चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरेका छन्।
“विश्वास, आशा र प्रेममा आधारित सदाचारी सामाजिक लोकतान्त्रिक व्यवस्था निर्माण नै मेरो अभियानको मूल आधार हो,” उनले दोहोर्याएका छन्।











