काठमाडौ,
एक जुगमाएक दिन एक चोटी आउँछ । कि बढी पनि ?
पहिले कविता पूरै पढिहेराैँ, अनि हाम्रो समयसँग कतिको मिल्छ, हेराैं है तः
एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्यांउँछ
लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दुःखको
सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्कीफर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिंड्छन्
मरे भनी फ्याँकिएका जुरुजुरु हिंड्छन्
खरानी हुन्छ भरभराउँदो, हुरी चल्न थाल्दछ
कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ
एक जुगमा एक दिन एकचोटि आउँछ !गोपाल प्रसाद रिमालको यो कविताको भाव होः असाधारण, निर्णायक, क्रमभङ्ग गर्ने क्षण इतिहासका बिन्दुमा कहिलेकहिँ मात्रै आउँछन्, र जब त्यस्ता दिन आउँछन् तिनले उथलपुथल र रूपान्तरण ल्याउँछन् । आम रूपमा यो सत्य हो ।
एक पुस्ताको अवधी २० देखि ५० वर्ष हुन सक्छ, तर विश्वव्यापी रूपमा यो ४० वर्ष मानिन्छ । त्यसैरी, युग वा जुग भन्नाले सृष्टिदेखि विभिन्न कालखण्ड गर्दा पूर्वीय मान्यताअनुसार ४ वटा युग जसमा लाखाैँ वर्षको अवधी मानिन्छ । भने हिब्रू बाइबलीय मान्यताअनुसार लगभग प्रत्येक १००० वर्षको एक अवधी वा युग मानिन्छ ।
तर अहिलेको हाम्रो सन्दर्भमा लाखाैं र हजाराैं वर्ष धेरै टाढा र पर रहनजाने भएकाले, कम्तिमा आफ्ना बाबुआमाले देखेभोगेको जमाना र आफ्ना हुर्केका छोराछोरीलाइ बताएर सुनाएर छोड्न सकिने समय विचार गर्दा, तीन पुस्ता समेट्न करिबन १०० वर्ष लाग्छ । यसरी एक शताब्दीलाइ एक युग मान्न सकिन्छ ।प्रत्येक लाख, हजार, वा सय वर्षमा एक पटक क्रमभङ्गता छाउँछ भन्ने भाव नै कवि रिमालको थियो, जसअनुसार राणाहरूको पारिवारिक शासनको १०० वर्ष पुग्दैगरेको सेरोफेरोमा अब थप बन्धन र अन्याय सहन सम्भव छैन, क्रान्ति हुनेछ, उथलपुथल हुनेछ, भन्ने भाव थियो । विश्व इतिहासमा पनि लगभग त्यो अवधीमा सबैतिर क्रान्ति र परिवर्तन भइरहेका थिए, वा एक युग पार गर्दैगर्दा नयाँ नयाँ कुरा आविष्कार र अनुभव गरिँदैथिए ।
तथापि, हाम्रो मुलुकचाहिँ सम्भवत विश्वमै अपवाद हो यस सन्दर्भमा, विशेषतः राजनीतिक क्रान्ति र परिवर्तनका सन्दर्भमा ।
कारण २००७ देखि २०८२ मा आइपुग्दा ७५ वर्षभित्रमा हाम्रो देशमा १) राणा शासन विरूद्ध सशस्त्र आन्दोलन र प्रजातन्त्र स्थापना, २) त्यसको दश वर्षभित्रमा २०१७ मा महेन्द्रद्वारा प्रजातन्त्रको अपहरण र निर्दलीय पञ्चायती व्यवस्था, ३) २०३६ मा जनमत संग्रह र सुधारिएको पञ्चायती व्यवस्था, ४) २०४६ मा जनआन्दोलनद्वारा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना, ५) २०६२/६३ मा जनआन्दोलन २ द्वारा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको अन्त्य, पहिलो सम्विधान सभाको निर्वचन २०६४ मा, सम्विधान दिन विफल भएपछि २०७० मा सम्विधान सभाको दोस्रो निर्वाचन जसले २०७२ मा सम्विधान जारी गर्यो, ६) २०८२ भदाै २३ र २४ को किशोर तथा युवा पुस्ता जेन जीको आन्दोलनले अहंकारी भ्रष्ट दलाल दलहरू र वृद्ध नेताहरूको सिन्डिकेट तोड्न सफल ।
यसरी यहाँ उल्लेद गरिएका मध्ये २०४६ देखि यताका आन्दोलन विद्रोह प्रत्यक्ष सुन्ने देख्ने र सहभागी बन्ने अवसर मैले पनि पाएँ,विशेष गरी २०६२/३ र २०८२ को आन्दोलनमा ।
वास्तवमा विगत दशकदेखि नै मैले भन्दै आएको थिएँ व्यवस्था र शासनपद्दति, सरकार र बहालवाला दल अदल बदलका लागि धेरै आन्दोलन भइसके, धेरै बलिदान भइसक्यो । अब मुलुकले यो भन्दा बढी बलिदान माग्दैन, थेग्न सक्दैन । अबको समय योगदान, श्रमदान, पसिना धानको हो, रक्तपात र क्रान्तिको होइन, सम्वाद र शान्तिको हो ।
तर फेरि एक पटक गोपाल प्रसाद रिमाल रम दुवै गलत प्रमाणित भयाैँ ।
हाम्रो मुलुकको नियतिमा करिबन आधा दर्जन नै क्रान्ती तय रहेछ, एक दुइ पटक मात्रै होइन रहेछ ।तर अब त्यस्तो नहोस् ।
पूर्व प्रधानन्यायाधीश सुशिला कार्की ज्युको प्रधानमन्त्रीत्वमा गठन हुने यो ६ महिनाभित्रमा चुनाव सम्पन्न गराउने अख्तियार पाएको सरकार आफ्नो जिम्मेवारिमा सफल होस्, भ्रष्टाचारीहरू कारबाहीमा परून्, नयाँ सफा अनुहारहरू सरकारमा आउन् । देश शान्ति र सम्वृद्धि, सहभागिता र समावेशिताको मार्गमा द्रूत गतिमा अघि बढोस्, बढ्नेछ भन्ने हामी धेरैको भरोसा छ । अब त्यसै होस्, इतिहासबाट पाठ सिकेर आम नेपाली जनता र नागरिकले विगतका गल्ती नगराैँ, विवेक प्रयोग गराैँ ।
#GenZ #Nepal #Revolution
एकजुगमा एकदिन
विदुर अधिकारी













